घडेरी किन्दै हुनुहुन्छ ? यी १० कुरा बुझेर मात्रै किन्नुस्

काठमाडौं । शहरी क्षेत्रमा एउटा आफ्नै घर होस् भन्ने चाहना आम नेपालीको छ । घर हुनको लागि पहिला जग्गा चाहिन्छ । काठमाडौं उपत्यकासहित देशभरको शहरी क्षेत्रमा एउटा घडेरी किन्न कम्तिमा पनि ५० लाख रुपैयाँको हाराहारीमा रकम चाहिन्छ ।

मध्यम वर्गीय, कामकाजी वा पेशाकर्मी नेपालीले ५० लाख रुपैयाँ जुटाउने भनेको करिब जिन्दगीभरको कमाईबाट मात्रै हो । विदेश गएर कमाएको, आफैले राम्रो नोकरी गरेको छ भने त्यसबाट आउने तलबबाट नियमति किस्ता तिर्ने गरी ऋण लिए वा बन्द व्यापारबाट गरेको कमाई लगानी गरेर मात्रै घडेरी किन्न सकिन्छ ।

यति धेरै रकम लगानी गरेर किनेको घडेरीमा विवाद आयो भने जिन्दगीभरको कमाईमा समस्या आउँछ । झन् पछिल्लो समयमा चर्चामा आएको बालुवाटारको ललिता निवासको जस्तै गरी सरकारी वा सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिको नाममा दर्ता गरिएको रहेछ र आफूले किनेपछि सो प्रकरण सार्वजनिक भयो भने झन् फसाद पर्छ नै ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरण हेर्ने हो भने मालपोतमा गएर हेर्दा जग्गा ठीक छ । नापीमा गएर हेर्दा त्यहाँ पनि दुरुस्त छ । त्यस्तो जग्गा पाएपछि कसैले पनि किर्ते, जालसाँझी वा माफियागिरी गरेर सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेको ठहर्याउन सक्दैन । किनभने जग्गा किन्ने बेलामा हेर्ने भनेको नक्सा र फिल्ड हो । त्यसपछि थप बुझ्ने भनेको मालपोत र नापी कार्यालयमै हो । नापी र मालपोतमै भएको कागजात पनि नक्कली रहेछन् भने ‘भाग्यको खेल’ ठानेर जिन्दगीभर पछुताउनुको विकल्प हुन्न ।

तपाईं हामीले सरकारी राजस्व तिरेर किनेको जग्गामा विवाद आयो भने त्यसको जवाफदेही जग्गा बेच्ने व्यक्ति नै हुन्छ । अहिलेको कानुनी व्यवस्था अनुसार मालपोत कार्यालय भनेको जग्गा किनबेचको साक्षी मात्रै हो । कुनै प्रकारको विवाद भयो वा समस्या आयो भने मालपोत कार्यालयले कानुनी रुपमा केही सहयोग गर्दैन, गर्न सक्दैन । मालपोत कार्यालय जग्गाको लिखत पारित गर्ने साक्षीको रुपमा मात्रै रहने गरेको छ ।

नेपालमा एउटा भनाई नै छ–‘जपछि झ आउँछ, ज भनेको जग्गा हो भने त्यसपछि आउने झले झगडा निम्त्याउँछ ।’ त्यसैले मालपोत कार्यालयहरुले जग्गा लिने दिने व्यक्तिले ध्यान दिनुपर्ने कुराहरु सार्वजनिक गर्ने गरेका हुन्छन् ।

कुनै प्रकारको समस्या भएको जग्गालाई मालपोतका कर्मचारीहरु ‘दुषित जग्गा’ भन्छन् । दुषित जग्गामा झ अर्थात झगडा पक्कापक्की नै हुन्छ । त्यसैले दुषित जग्गा पहिचान गर्ने तथा जग्गा लिनु वा दिनुअघि ध्यान दिनुपर्ने १० टिप्स यस्ता छन्ः

१. स्वामित्व हस्तान्तरण हुने वा स्वामित्व प्राप्त गर्ने जग्गाको प्रमाणपूर्जा तथा नक्साअनुसार फिल्ड मिले नमिलेको यकिन गर्ने ।

२. फिल्डमा नक्सा अनुसारको क्षेत्रफल पूरा छ छैन बुझ्ने ।

३. जग्गाको भोग सम्बन्धमा स्पष्ट हुने ।

४. सडक, बाटो सम्बन्धमा नक्सा र फिल्डबारे स्पष्ट गर्ने ।

५. लिनेदिने मूल्य सम्बन्धमा स्वयम् लिने दिनेले नै यकिन गर्ने ।

६. रोक्का तथा जग्गा खिचलो बारेमा स्वयम् लिने दिने स्पष्ट हुने ।

७. रैकर, गुठी अधिनस्त आदि जग्गाको प्रकार बारेमा इकिन गर्ने ।

८. अंशियार, हकवाला, मोहीको सम्बन्धमा बुझी लिखतमा साक्षी राख्नुपर्ने अवस्थामा लिखत पारित गर्दा नै साक्षी राख्ने व्यवस्था गर्ने ।

९. घर÷टहरा भएकोमा सो स्वामित्व हस्तान्तरण हुने भएमा लिखतमा खुलाउनु पर्ने ।

१०. लिखत रजिष्ट्रेसन भैसकेपछि संशोधन गर्न नमिल्ने हुँदा पारित हुनु अगाडि नै स्वामित्व प्राप्त गर्नेले सो अचल सम्पत्तिको कानुनी हैसियत सम्बन्धमा यकिन गरी मात्र पारित गर्ने ।

Leave a Comment